करिब २० करोड मानिस सखाप पार्ने त्यो महामारी

362

सन् १३४९ अर्थात् विसं १४०६ को समयताका विश्व एउटा कठोर परिस्थितिमा गुज्रियो । एउटा महामारीका कारण एक दशकमा नै एक तिहाई मानिसको विश्वको जनसंख्यामा कमी आयो । त्यसभन्दा पहिलेदेखि नै विशेषगरी युरोपमा ठूलो महामारीको अवस्था चलिरहेकै थियो । तर, नेपाल भने त्यो बेलामा समेत आफ्नै आन्तरिक द्वन्द्वमा गुज्रिँदै थियो ।

त्यतिबेला विश्वभरको कूल जनसंख्या थियो, करिब ४५ करोड । त्यतिबेला युरोपेली मुलुकसँगै भारत र चीन लगायतका मुलुकहरु समेत यसबाट प्रभावित हुँदै थिए । तर, पश्चिमी मुलुकहरुसँगै विश्वभरी महामारीको श्रृङ्खला चलिरहँदा पनि नेपाल र भारतमा भने धार्मिक सोचलाई लिएर एकले अर्काेमाथि आक्रमण गर्ने सिलसिला चलिरहेको थियो ।

जतिबेला एक तिहाई विश्वको जनसंख्या सखाप पार्ने महामारी सुरु भएको थियो । त्यसको केही वर्षमा नै काठमाडौं उपत्यकामा भारतका सम्राट समसुद्दीनले आक्रमण गरेका थिए । यस बेला एक सप्ताहसम्म समसुद्दीनका सैनिकले उपत्यकामा ठूलो लूटपाट र विध्वंस गरेका थिए ।

हाजी समसुद्दीन इलियास शाह बङ्गालका शासक थिए र उनलाई सिमरौनगढमाथि आक्रमण गर्ने दिल्लीका सुल्तान ग्यासुद्दीन तुगलकका छोरा मुहम्मद तुगलकले तिरहुत क्षेत्रबाट कर असुल गर्न नियुक्त गरेका थिए । समसुद्दीनका सेनाहरुले पशुपति मन्दिरको सबै ढुकुटीको पैसा लुटेर लगेका थिए । त्यसैले नेपाली इतिहासमा विश्वको महामारीको बारेमा खासै उल्लेख हुने गरेको पाईँदैन ।

इतिहासमा ब्ल्याक डेथ वा कालो मृत्युको रुपमा चिनिन्छ सन् १३४८ देखि १३५०सम्म चलेको महामारी । विश्वको एक तिहाई जनसंख्याको मृत्युमा जिम्मेवार मानिएको बुबोनिक प्लेग पनि सुरुमा एशियामा सुरु भएर पश्चिम तर्फ फैलिँदै गएको इतिहासमा पाइन्छ ।

कालो मृत्यु विश्वको मानव इतिहासमा सबभन्दा विध्वंसकारी माहामारी रोगहरु मध्येको एक रोग थियो । यसको महामारीबाट विश्वमा साढे ७ देखि २० करोडसम्म मानिस मरेको अनुमान गरिएको छ । यूरोपमा यो रोगको सबभन्दा बढी प्रकोप सन् १३४८ देखि ५० मा भएको थियो । यद्यपि यसको सुरुवात १३४० को दशकको सुरुवातदेखि नै चल्दै आएको देखिन्छ ।

सो महामारीको विषयमा अध्ययन गर्नको लागि २१ औं शताब्दीको सुरुवाती समयमा गठन भएका विभिन्न अध्ययन टोलीहरुले यस विषयमा फरक फरक विचारहरुको विकास गराएका छन् । सन् २०१० र २०११ मा प्रकाशित उत्तर र दक्षिण यूरोपका मृतकहरुको डिएनए अध्ययन गरेर तयार पारिएको विवरण अनुसार यो रोग यार्सिनिया पेस्टिस नामको जिवाणुद्वारा फैलिएको थियो ।

यो महामारी मध्य एसियाको सुख्खा क्षेत्रबाट सुरु भएको अनुमान लगाइएको छ । त्यहाँबाट यो महामारी सिल्क रोड हुँदै सन् १३४६ मा क्रिमिया पुगेको थियो । त्यसपछि एक प्रकारको कालो मुसामा लाग्ने उपियाँको माध्यमबाट पुरै युरोपभरी फैलिएको अनुमान गर्ने गरिन्छ । यो भाइरस सारा युरोपभरी फैलिनको लागि ८ वर्ष लागेको बताइएको छ ।

ती उपियाँहरु सामान ढुवानी गर्ने पानी जहाजमा मार्फत् युरोप प्रवेश गरेका थिए । युरोपका विभिन्न ठाउँको मृत्युदरलाई हेर्दा सो रोगबाट ३० देखि ६० प्रतिशतसम्म मानिसहरुको ज्यान गएको अनुमान गरिन्छ ।

कालो मृत्युको महामारीले यूरोपको इतिहासमा अनेकौं गम्भीर धार्मिक, सामाजिक र आर्थिक क्षेत्रमा समेत उथलपुथल सिर्जना गरेको छ । यूरोपलाई सोही समयको जनसंख्या प्राप्त गर्नको लागि त्यतिबेला १५० वर्ष लागेको विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ ।

युरोपेली ऐतिहासिक ग्रन्थहरुमा सो घटनाको विषयमा उल्लेख गर्दै भनिएको छ कि ‘महिनौंसम्म सडकमा मरेको लासलाई उठाउने कुनै मान्छे थिएनन् । महिनौंसम्म उनीहरु सडकमा नै लडिरहे ।’

इङ्ल्याण्ड र फ्रान्स जस्ता मुलुकहरु विपत्तिले यति असक्षम भए कि ती देशहरूले यही असक्षमताका कारण युद्ध गर्न सुरु गरे । जब महामारीले आर्थिक अवस्था र जनसंख्यालाई परिवर्तन गर्‍यो, यही कारणले ब्रिटिश सामन्तवादी प्रणाली ढल्यो । ग्रीनल्याण्डमा भव्य जनसंख्याको क्षति भयो । गैर आदिवासीहरुले मूल जनसंख्याको बिरूद्ध युद्ध लड्ने शक्ति गुमायो र उत्तर अमेरिकाको अन्वेषण रोकियो

साभार- onlinekhabar

Leave A Reply

Your email address will not be published.